दफा ६
दर्ताको दरखास्तमा खुलाउनु पर्ने विषय र दस्तूर
:– फर्म लगतमा दर्ता गराउन अनुसूची –२ (क) मा तोकिएको दस्तूर सामेल राखी साझेदारहरुको आपसमा कबुलियत भएको भए त्यसको रीतपूर्वकको नक्कल एक प्रति समेत राखी अनुसूची–१ (क) को ढाँचामा देहायको विवरण समेत खुलाई सम्बन्धित विभागमा दरखास्त दिनु पर्छ ।
(क) फर्मको पूरा नाम,
(ख) फर्मको कारोवार गर्ने मूख्य ठेगाना,
(ग) फर्मले काम गर्न चाहेको चीज वस्तु वा गर्न खोजेको सेवाको छोटकरी वयान सहित फर्मको उद्देश्य,
(घ) साझेदारहरुको पूरा नाम, थर र स्थायी ठेगाना,
(ङ) कुनै साझेदारको अधिकार उपर बन्देज लगाएको भए सो कुरा,
(च) साझेदारको किसिम र प्रत्येक साझेदारले लगाएको पूँजी,
(छ) फर्मको प्रतिनिधित्व गर्ने साझेदार वा साझेदारहरुको नाम,
(ज) नाफा नोक्सान वण्डा लगाउने तरिका,
(झ) नाफा निश्चित गर्ने तरिका,
(ञ) सम्बन्धित विभागले खुलाउनु पर्ने भनी तोकिदिएको अरु कुनै विषयहरु ।